सिक्टा सिँचाइ आयोजनाको प्रगतिप्रति मन्त्री श्रेष्ठको चासो, समयमै सम्पन्न गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाँकेको सिक्टा सिँचाइ आयोजनाको अपेक्षित प्रगति नभएको भन्दै समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आयोजनाको स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले निर्माण कार्यलाई तीव्रता दिन, आवश्यक बजेट सुनिश्चित गर्न र देखिएका प्रशासनिक तथा कानुनी जटिलता समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सिक्टा सिँचाइ आयोजनाले बाँकेका विभिन्न स्थानीय तहका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। हालसम्म करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।
आर्थिक वर्ष २०६१/६२ मा सुरु भएको आयोजना हाल दोस्रो चरणमा रहेको छ। आयोजनाको हालसम्म ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ भने करिब २४ अर्ब आठ करोड रुपैयाँ खर्च भइसकेको छ।
सरकारले राष्ट्रिय गौरवको यस आयोजना आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ।