हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु : उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको जानकारी दिएकी छन्।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले हेटौँडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता विकास, रोजगारी सिर्जना तथा औद्योगिक उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको बताइन्।
मन्त्री गौरीकुमारीका अनुसार सात वटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कनको काम अघि बढिरहेको छ। साथै, लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको र यसले निजी लगानी तथा उद्योग व्यवसायलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्।
उनले औद्योगिक क्षेत्र व्यवस्थापन, उद्यमशीलता प्रवर्द्धन, विदेशी लगानी आकर्षण, चिया तथा अलैँची निर्यात सहज बनाउने, र दैलेखको जलजले क्षेत्रमा प्राकृतिक ग्यासको व्यावसायिक उपयोगका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकार अघि बढिरहेको जानकारी दिइन्।