कारागारका उत्पादनको माग घट्दा बन्दीको आम्दानीमा असर
कुनै समय कारागारमा उत्पादित मुढा, गलैँचा, झोलालगायतका सामग्रीको माग उच्च भए पनि पछिल्लो समय बजार घट्दै गएको छ। माग घटेपछि कारागारमा सीपमूलक काम गर्दै आएका बन्दीको आम्दानी र उत्पादन दुवै प्रभावित भएका छन्।
कारागारमा विगतमा करिब २०० जना बन्दी मुढा उत्पादनमा संलग्न रहेकामा अहिले यो सङ्ख्या घटेर करिब ७५ मा पुगेको छ। पहिले मासिक करिब ५०० वटा मुढा उत्पादन हुने गरेकामा अहिले करिब ३०० वटामा सीमित भएको छ।
गलैँचा उत्पादनमा समेत कमी आएको छ। बजार कमजोर हुँदा उत्पादन घटेको र काम गर्ने बन्दीको उत्साहमा पनि असर परेको उनीहरूले बताएका छन्। कारागार प्रशासनका अनुसार राम्रो बजार हुँदा बन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेकामा अहिले करिब पाँच हजार रुपैयाँमा सीमित भएको छ।
कारागारमा रहेका बन्दीका लागि सीप विकाससँगै आयआर्जनको माध्यम बनेका यी उत्पादनको बजार विस्तार गर्न आवश्यक देखिएको छ।