दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर एक जना वडा सचिवको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार गढवा–६ प्रनहवास्थित आफ्नै घरमा सोमबार बेलुकी शौचालयको बत्ती मर्मत गर्ने क्रममा यादवलाई करेन्ट लागेको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले यादवको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।