मधेस र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षाअनुसार वर्षा भएन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनी वायु सक्रिय रहे पनि पछिल्लो समय वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित भएको छ। देशका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भइरहेको उनले जानकारी दिए।
उनका अनुसार लुम्बिनीको उत्तरी क्षेत्र र सुदूरपश्चिमका केही भूभागमा मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा मनसुनी गतिविधि थप सक्रिय हुँदै वर्षाको क्षेत्र विस्तार हुने सम्भावना रहेको विभागले जनाएको छ।
विभागले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै मधेस र लुम्बिनीका केही स्थानमा हुरीबतासको जोखिमसमेत रहेको जनाएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव, पहिरो र सहरी डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।