सीटीईभीटी एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त
काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा चार जना विज्ञ सदस्य नियुक्त भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिषद्को उक्त निकायमा सूचना प्रविधि नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ तथा नर्सिङ एवं जनस्वास्थ्य विज्ञ प्रमिला रानालाई सदस्यका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
सीटीईभीटी अन्तर्गतको एकेडेमिक काउन्सिललाई प्राविधिक तथा व्यावसायिक शिक्षाको शैक्षिक तथा प्राज्ञिक मार्गनिर्देशन गर्ने सर्वोच्च निकाय मानिन्छ। यसले पाठ्यक्रम विकास, शैक्षिक गुणस्तर सुधार र दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।