सभामुख अर्याल र साउदी राजदूतबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीचको संसदीय सम्बन्ध, श्रम, व्यापार, लगानी, पर्यटन तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
सभामुख अर्यालले नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै दुवै देशका संसदबीच संस्थागत सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले साउदी अरेबिया नेपाली कामदारका प्रमुख श्रम गन्तव्यमध्ये एक रहेको उल्लेख गर्दै श्रम आप्रवास क्षेत्रमा भएको सहकार्यप्रति सन्तोष व्यक्त गरे।
उनले सन् २०२७ मा नेपाल–साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिँदै त्यसलाई दुवै देशको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गरिने बताए।
सभामुख अर्यालले पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, पर्यटन, कृषि तथा खानी क्षेत्रमा साउदी लगानी आकर्षित गर्न नेपाल इच्छुक रहेको उल्लेख गरे। साथै, नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले साउदी पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा पनि व्यक्त गरे।
जवाफमा राजदूत मनिखले नेपालसँगको सम्बन्धलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा थप सहकार्य गर्न आफ्नो देश तयार रहेको बताए।
हाल साउदी अरेबियामा करिब ३ लाख ८५ हजार नेपाली कार्यरत रहेका छन्। नेपालले सन् १९७८ मा साउदी अरेबियामा र साउदी अरेबियाले सन् २०१२ मा नेपालमा आफ्नो राजदूतावास स्थापना गरेका थिए।