बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार लाभान्वित
बर्दिया — सरकारले बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ। बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई पहिलो चरणमा लालपुर्जा वितरण गरिएको हो।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा पाएपछि अब कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै उनीहरूलाई आफ्नो बसोबास र सम्पत्तिको कानुनी अधिकार सुनिश्चित भएको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बर्दियाबाट सुरु गरिएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गरिने जानकारी दिएकी छन्। उनले वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने लक्ष्य रहेको पनि बताइन्।