कैलाली प्रहरी हिरासतबाट थुनुवा फरार, प्रहरी जवान निलम्बित
कैलालीमा प्रहरी हिरासतबाट एक जना थुनुवा फरार भएपछि ड्युटीमा खटिएका प्रहरी जवान निलम्बनमा परेका छन्। ब्राउन सुगरसहित पक्राउ परेका टीकापुर नगरपालिका–२ राजीपुरका ३१ वर्षीय सञ्जय नगाती असार २१ गते मध्यराति प्रहरी हिरासतबाट भागेका थिए।
नगातीलाई असार ९ गते लागुऔषधसहित पक्राउ गरिएको थियो। प्रहरीका अनुसार उनले मध्यराति पानी मागेपछि च्यानेल गेटको ढोका खोलिएको मौका पारी भागेका हुन्।
घटनाका बेला ड्युटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई जिम्मेवारीमा लापरबाही गरेको भन्दै निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पानी च्यानेल गेटबाटै पुर्याउन सकिने अवस्था हुँदाहुँदै ढोका खोलिएको देखिएको छ।
प्रहरीले घटनामा कुनै मिलेमतो भए/नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ। फरार थुनुवा नगातीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।