तीन महिनामा विपद्का घटनामा १३६ जनाको मृत्यु
काठमाडौं, २२ असार — वैशाख १ देखि असार २२ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १३६ जनाको मृत्यु भएको छ भने ६३५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ३,२५१ वटा विपद्का घटना भएका छन्, जसबाट ३,६२३ परिवार प्रभावित भएका छन्।
सबैभन्दा बढी सर्पदंशबाट २८ जनाको मृत्यु भएको छ। त्यसपछि चट्याङ र लेक लागेर २१/२१ जना, आगलागीबाट १७, जनावरको आक्रमणबाट १६, हावाहुरीबाट १३ तथा बाढी र पहिरोमा १४ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मनसुन सक्रिय रहेकाले प्राधिकरणले मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।