एक साताभित्र कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराइने
काठमाडौं, २२ असार — स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा एक साताभित्र अतिक्रमणमुक्त गराइने बताएकी छन्।
आइतबार गृहमन्त्री सुधन गुरुङसँग अस्पतालको स्थलगत निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना कानुनअनुसार हटाउने निर्णय गरिएको हो।
गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वय गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएका छन्।
अस्पताल प्रशासनका अनुसार अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका छन्।