गाजामा प्रशासनिक निकाय विघटन गर्दै हमास, नयाँ प्राविधिक समितिलाई जिम्मेवारी हस्तान्तरणको तयारी
गाजा, २२ असार — करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको हमासले आफ्नो सरकारी प्रशासनिक निकाय विघटन गर्ने निर्णय गरेको छ।
हमासले गाजाको दैनिक प्रशासन प्यालेस्टिनी राष्ट्रिय प्राविधिक समितिलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ। सन् २००७ मा फताहबाट नियन्त्रण लिएपछि हमासले गाजामा प्रत्यक्ष शासन गर्दै आएको थियो।
हालैका वार्ता र युद्धविरामपछि प्रशासनिक जिम्मेवारी हस्तान्तरणको संकेत दिँदै आएको हमासले अब औपचारिक रूपमा प्रशासनिक संरचना विघटन गर्ने निर्णय गरेको हो। तर निशस्त्रीकरण र युद्धपछिको राजनीतिक व्यवस्थाबारे भने अझै सहमति जुट्न सकेको छैन।
हमासका अधिकारीका अनुसार अन्तरिम अवधिमा प्रशासनिक कामको समन्वयका लागि एक जिम्मेवार संयोजक तोकिनेछ। कायरोमा भएका वार्तामा यो निर्णय अन्य प्यालेस्टिनी गुटहरूलाई जानकारी गराइएको बताइएको छ।
यता नयाँ प्रशासनिक संरचना गठन र गाजामा शान्ति व्यवस्थापनको विषयमा विभिन्न पक्षबीच मतभेद कायमै रहेको छ। इजरायलले गाजामा हमासको पुनः शासन अस्वीकार गर्दै आएको छ भने प्यालेस्टिनी प्राधिकरणको भूमिकाबारे पनि स्पष्ट सहमति हुन सकेको छैन।