कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो, अब ११ हजार ३०० रुपैयाँ तिर्नुपर्ने
दक्षिण कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क वृद्धि भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सार्वजनिक सूचना जारी गर्दै नेपालस्थित कोरियन दूतावासको निर्णयअनुसार नयाँ शुल्क लागू भएको जनाएको हो।
यसअघि भिसा शुल्क १० हजार ७०० रुपैयाँ रहेकोमा अब ६०० रुपैयाँ बढाएर ११ हजार ३०० रुपैयाँ कायम गरिएको छ। नयाँ शुल्क असार १७ गतेदेखि प्राप्त पत्रका आधारमा लागू गरिएको शाखाले जनाएको छ।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान सीसीभीआई प्राप्त गरेका व्यक्तिहरूले अब सीसीभीआई फाराम भर्दा नयाँ शुल्कअनुसार रकम बुझाउनुपर्नेछ। उक्त रकम नेपाल बैंक लिमिटेड, गाबाहल शाखामा रहेको तोकिएको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकमा रकम जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारामसहित स्वयं उपस्थित भई ईपीएस कार्यालयमा बुझाउनुपर्नेछ। साथै, एउटै व्यक्तिको नाममा कुनै कारणवश दोहोरो भुक्तानी भएमा उक्त रकम फिर्ता नहुने पनि सूचनामा स्पष्ट पारिएको छ।