मेलम्चीको पानी धमिलो भएपछि काठमाडौंमा आपूर्ति अस्थायी रूपमा बन्द
काठमाडौं — मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार मुहानमा पानीको गुणस्तर अत्यधिक बिग्रिएपछि प्रशोधन प्रक्रिया प्रभावित भएको हो। त्यस कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा मेलम्चीको पानी प्रवाह रोकिएको छ।
केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दले मुहानको पानी सफा भएपछि मात्र पुनः प्रशोधन प्रक्रिया सुरु गरी पूर्वनिर्धारित तालिकाअनुसार वितरण सुरु गरिने जानकारी दिएका छन्।
निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ।