कर्णाली नदीमा फोर्स गाडी खस्दा दुर्घटना, एक जनाको मृत्यु
दैलेख — कर्णाली राजमार्गअन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी जारी रहेको छ।
कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली उद्धार तथा खोजी कार्यमा खटिएको थियो। उद्धारका क्रममा एक पुरुषलाई नदीबाट निकालेर दुल्लु नगर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार गाडीमा करिब ५ देखि ६ जना यात्रु सवार रहेको हुनसक्ने भए पनि यकिन विवरण अझै पुष्टि हुन सकेको छैन। बेपत्ता यात्रुको खोजी कार्य निरन्तर जारी रहेको छ।
सशस्त्र प्रहरी बलका गोताखोरसहितको टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा कर्णाली नदी क्षेत्रमा उद्धार तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।