बर्डफ्लु फैलिँदै, ११ जिल्लामा सतर्कता—सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
काठमाडौं — पशुसेवा विभागले बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ।
विभागले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै सङ्क्रमित पन्छी वा तिनका उत्पादनको ओसार–पसार तथा बिक्री रोक्न सबैलाई सचेत गराएका छन्।
गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ।
प्रभावित क्षेत्रमा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरी सङ्क्रमण नियन्त्रणको काम भइरहेको छ। केही जिल्लामा रोग नियन्त्रणको चरणमा पुगेको विभागको दाबी छ।
विभागका अनुसार हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ। बर्डफ्लुका लागि प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमण पुष्टि हुनेबित्तिकै पन्छी नष्ट गर्नु नै प्रमुख नियन्त्रण उपाय भएको विभागले जनाएको छ।
मरेका वा सङ्क्रमित पन्छी जथाभावी फाल्दा मानिसमा समेत सङ्क्रमण सर्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको छ।