चालक चन्द्रबहादुर बुढाथोकी स्टेयरिङमै ढले, तर बचाए १४ यात्रुको ज्यान
चितवन — नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ईभी भ्यानका चालक चन्द्रबहादुर बुढाथोकीको बाटोमै स्वास्थ्य बिग्रिएर मृत्यु भएको छ। तर अन्तिम क्षणमा उनले देखाएको संयमता र सुझबुझका कारण भ्यानमा सवार १४ यात्रु सकुशल रहेका छन्।
बुधबार दिउँसो करिब ४ बजे बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको भ्यान टिकौली पुल नजिक पुगेपछि चालक बुढाथोकीले अचानक असहज महसुस गरेका थिए। सुरुमा सामान्य देखिए पनि केहीबेरमै उनको अवस्था बिग्रँदै गएको र उनले गाडीलाई सुरक्षित रूपमा सडक किनारमा रोकेका थिए।
चितवनको रत्ननगर नगरपालिका–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिकै गाडी रोकेपछि उनी स्टेरिङमै बेहोस भएका थिए। त्यसपछि प्रहरीको सहयोगमा उनलाई बकुलहर अस्पताल टाँडी पुर्याइएकोमा चिकित्सकले साँझ करिब ४:५० बजे मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार चालकले समयमै गाडी रोकेकाले सम्भावित ठूलो दुर्घटना टरेको हो। यात्रुहरू सबै सुरक्षित रहेका छन्। घटनापछि उनीहरूलाई वैकल्पिक सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार चालकले असहज महसुस हुँदाहुँदै पनि सवारी नियन्त्रणमा राख्दै सुरक्षित स्थानमा रोकेका थिए। यात्रुहरूले पछि मात्र उनको अवस्था गम्भीर भएको थाहा पाएका थिए।
सामाजिक सञ्जालमा पनि चालक बुढाथोकीले अन्तिम क्षणसम्म यात्रुहरूको ज्यान जोगाउन गरेको प्रयासप्रति प्रशंसा व्यक्त गरिएको छ।