स्विट्जरल्यान्ड २–० ले अल्जेरियालाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश
अन्तिम ३२ को नकआउट चरणमा स्विट्जरल्यान्डले अल्जेरियामाथि २–० को जित निकाल्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
खेलको १०औँ मिनेटमै जे. डब्लू. मान्जाम्बीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अगाडि रहेको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु हुनासाथ ४६औँ मिनेटमा डान न्डोएमार्फत अर्को गोल थप्दै अग्रता दोब्बर बनायो।
खेलको अन्तिम चरणमा स्विट्जरल्यान्डले अग्रता अझ बढाउने अवसर पाए पनि फिनिसिङमा चुक्यो। एम्बोलोको सम्भावित तेस्रो गोल प्रयास पोस्टभन्दा माथिबाट बाहिरिएको थियो भने फाबियन रिडरले गोलकिपर लुका जिदानविरुद्ध स्पष्ट अवसर गुमाएका थिए।
अल्जेरियाले पहिलो हाफमा सुधारिएको प्रदर्शन गरे पनि फिनिसिङ कमजोरी र दोस्रो हाफको सुरुमै गोल खाँदा खेलमा फर्किन सकेन। यससँगै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ भने अल्जेरियाको यात्रा समाप्त भएको छ।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घाटामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।