दैलेखमा मिनीबस कर्णाली नदीमा खस्यो, उद्धार तथा खोजी कार्य जारी
दैलेख — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस दुर्घटना हुँदा कर्णाली नदीमा खसेको छ।
प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहान करिब साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको र अन्य यात्रुको अवस्था अझै खुल्न बाँकी रहेको उनले जानकारी दिए।
दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ।
घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।