विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी
काठमाडौं — नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप गरिएको छ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पटक म्याद थप गरेको हो। अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको अदालत प्रशासनले जनाएको छ।
उनी श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको दाबी गर्दै सरकारी पक्षले कागजात पेश गरेको जनाइएको छ।
यसै प्रकरणमा थुनामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्दा पनि सोही कम्पनीसम्बन्धी विवरण उल्लेख गरिएको थियो। विभागका अनुसार कम्पनीको लगानी संरचना र वास्तविक स्वामित्वबारे थप अनुसन्धान भइरहेको छ।
पौडेलका कानुन व्यवसायीहरूले भने उनलाई हाजिर जमानीमा रिहा गर्न माग गर्दै राजनीतिक प्रतिस्पर्धीका बयान मात्रका आधारमा पक्राउ गर्न नमिल्ने तर्क गरेका छन्। उनीहरूले बयानलाई मात्र प्रमाण मानेर कारबाही गर्नु उचित नहुने दाबी गरेका छन्।