प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण निवारण संशोधन विधेयक पारित
काठमाडौं — प्रतिनिधिसभाले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई बैठकले बहुमतका साथ स्वीकृत गरेको हो।
विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको थियो।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले सम्पत्ति शुद्धीकरणका मुद्दामात्र नभई समग्र आर्थिक अपराधको अनुसन्धान र नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तै शक्तिशाली ‘आर्थिक अपराध प्राधिकरण’ गठन गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।
एउटै घटनामा विभिन्न निकायले छुट्टाछुट्टै अनुसन्धान गर्दा राज्यको खर्च बढ्ने, अदालतमा अनावश्यक बोझ पर्ने तथा बिगो असुलीमा समस्या आउने भएकाले कानुनी व्यवस्था सुधार गर्न आवश्यक रहेको मन्त्री वाग्लेले बताए।