त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ
काठमाडौं — त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बुधबार शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष थापालाई शपथ गराएका हुन्।
सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिले सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।
यसै अवसरमा सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केले पनि पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनलाई सेवा आयोगका अध्यक्ष थापाले शपथ गराएका हुन्।
शपथपछि अध्यक्ष थापाले निष्पक्ष, निर्भीक र इमानदार ढङ्गले जिम्मेवारी निर्वाह गर्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि तथा संस्थागत सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहासलाई कायम राख्दै समयअनुकूल सुधार र विकासमार्फत विश्वविद्यालयलाई अझ सक्षम, गुणस्तरीय र प्रतिस्पर्धी बनाउने दिशामा आफ्नो कार्यकालभर सक्रिय रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।