सिटिइभिटि एकेडेमिक काउन्सिलमा चार विज्ञ मनोनयन
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, स्टेम शिक्षा विज्ञ तथा कर्खानाका सह–संस्थापक डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।
एकेडेमिक काउन्सिलले पाठ्यक्रम विकास, नयाँ कार्यक्रम स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्राविधिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा भूमिका खेल्दै आएको छ।
मन्त्रालयका अनुसार डा. अमृता शर्माले सूचना प्रविधि, डिजिटल रूपान्तरण र रोजगारीयोग्यता विषयमा अनुसन्धान गर्दै आएकी छन् भने उनले नेपाललाई डिजिटल अर्थतन्त्र र सूचना प्रविधि सेवा निर्यातको सम्भावित केन्द्रका रूपमा विकास गर्न नीतिगत सुझावसमेत दिँदै आएकी छन्।
त्यस्तै, उद्योग क्षेत्रका अनुभवी व्यवसायी विरेन्द्र राज पाण्डेको नेतृत्वले प्राविधिक शिक्षा र श्रम बजारबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठले विज्ञान, प्रविधि, इन्जिनियरिङ र नवप्रवर्तनमुखी शिक्षामा काम गर्दै आएका छन्। नर्सिङ तथा जनस्वास्थ्य विज्ञ प्रमिला रानाले स्वास्थ्य शिक्षा, आपतकालीन प्रतिकार्य र जनस्वास्थ्य कार्यक्रमहरूमा लामो अनुभव हासिल गरेकी छन्।
मन्त्रालयले यी विज्ञहरूको सहभागिताले प्राविधिक तथा व्यावसायिक शिक्षालाई उद्योग, नवप्रवर्तन र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरेको छ।