नौबिसे–मलेखु सडक विस्तारमा तीव्रता, ६० प्रतिशत भौतिक प्रगति
काठमाडौं, २२ असार — नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तीव्रता पाएको छ।
४३ किलोमिटर लामो यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। आयोजनाका अनुसार समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशव ओझाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत प्रगति पुर्याउने लक्ष्य रहे पनि बिटुमिन अभावका कारण केही ढिलाइ भएको बताए। हाल आपूर्ति सहज भएपछि कामले पुनः गति लिएको उनले जानकारी दिए।
निर्माण कम्पनीका अनुसार मौसम अनुकूल भएमा आगामी दिनमा थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ। हाल दैनिक ४ सयदेखि ५ सय मिटर कालोपत्रे गर्ने क्षमता अनुसार काम भइरहेको छ।
आयोजनाले वर्षायामअघि पुराना पिच खण्ड मर्मत गरी यातायात सहज बनाउने लक्ष्यसमेत राखेको छ।