टीकापुर नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढी बजेट पारित
टीकापुर — टीकापुर नगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ६७ लाख ७७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
नगरसभा ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले बजेट प्रस्तुत गरेका थिए।
नगरपालिकाका अनुसार संघीय सरकारबाट ६५ करोड ५६ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड ६६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै आन्तरिक स्रोतबाट २४ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
नगरप्रमुख रामलाल डगौरा थारुले राजीनामा दिई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् भने उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेपछि ज्येष्ठ सदस्य थारुको अध्यक्षतामा सभा सञ्चालन गरिएको हो।
सभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति तथा कार्यक्रम, वडा नं २ का दीपक चौधरीले आर्थिक गतिविधिसम्बन्धी प्रस्ताव र वडा नं ४ का लालबिर चौधरीले विविध प्रस्ताव प्रस्तुत गरेका थिए।
नगरको नीति तथा कार्यक्रममा स्थानीय कच्चापदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई १० वर्षसम्म नगरपालिका बुझाउनुपर्ने राजस्व शुल्क छुट दिने व्यवस्था गरिएको छ।
त्यसैगरी सरकारी स्वामित्वका घरजग्गा, सरकारी अस्पताल, गुठी, मुनाफा रहित संस्था, धार्मिक स्थल, खानेपानी तथा मसानघाटजस्ता सार्वजनिक संरचनाको सम्पत्तिमा कर नलाग्ने नीति अघि सारिएको छ।