मेची भन्सारको राजस्व ११ प्रतिशतले बढ्यो, वार्षिक लक्ष्य भने पूरा भएन
काँकरभिट्टा, ६ साउन — पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२–८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो।
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यसको तुलनामा गत आवमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको देखिएको छ।
राजस्व सङ्कलनमा वृद्धि भए पनि कार्यालयले तोकिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष २०८२–८३ का लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत मात्र हासिल गरेको जनाएको छ।
मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक हो। यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन्। त्यस्तै पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुँदै आएको छ।