सात दिनपछि हरियो बन्यो नेप्से, ४४.५९ अंकको वृद्धि
काठमाडौं । लगातार सात कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने उल्लेखनीय सुधारसहित हरियो भएको छ। आज नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२.९३ बिन्दुमा पुगेको छ।
आज कुल ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा सुधार आएसँगै नेप्सेको कुल बजार पुँजीकरण पनि १.७० प्रतिशतले वृद्धि भएको छ।
बुधबार कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य बढेको देखिएको छ। कुल कारोबार भएका कम्पनीमध्ये २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
एक सातापछि बजारमा आएको सुधारसँगै सबै उपसमूहका परिसूचक हरियाली भएका छन्। यसले लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ। सात दिनको लगातार गिरावटपछि आएको यो वृद्धिलाई बजारमा सुधारको संकेतका रूपमा हेरिएको छ।