पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे १० लाखसम्म जरिवाना
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। निगमको विनियमावली संशोधन गर्दै कृत्रिम अभाव गरे अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने प्रावधान ल्याइएको हो।
निगमका निर्देशक मनोज ठाकुरका अनुसार पहिलो पटक उल्लङ्घन गरे ३ लाख, दोस्रो पटक ५ लाख र तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना गरिनेछ। पेट्रोल उपलब्ध हुँदाहुँदै वा खरिद गर्न सक्ने अवस्था हुँदाहुँदै पनि इन्धन नकिनी अभाव सिर्जना गर्ने पम्पहरू यो व्यवस्थाको दायरामा पर्नेछन्।
हालै पेट्रोलको मूल्य घटेपछि केही पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्दै बिक्री बन्द गरेपछि उपभोक्ताबाट कारबाहीको माग उठेको थियो। त्यसपछि वाणिज्य विभाग र आयल निगमले अनुगमन गरी विनियमावली संशोधनमार्फत नयाँ दण्ड व्यवस्था लागू गरेको जनाएको छ।