ठमेलमा बढे भारतीय पर्यटक, पर्यटन व्यवसायमा देखियो सकारात्मक प्रभाव
काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। भारतीय पर्यटकको चहलपहल बढेसँगै होटल, रेस्टुरेन्ट, पसल तथा अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।
पहिले युरोपेली तथा अन्य विदेशी पर्यटकको प्रमुख गन्तव्य मानिने ठमेल अहिले भारतीय पर्यटकको पनि आकर्षणको केन्द्र बन्दै गएको छ। भारतीय पर्यटकले नेपाली परिकार, सांस्कृतिक वातावरण र हस्तकलाका सामग्रीप्रति विशेष रुचि देखाउने गरेका छन्।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीका अनुसार भारतीय पर्यटकको बढ्दो उपस्थितिले ठमेलको आर्थिक गतिविधि थप चलायमान बनेको छ। होटल, रेस्टुरेन्ट र मनोरञ्जन क्षेत्रमा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको उनले बताए।
ठमेलस्थित होटल व्यवसायीका अनुसार हाल होटलमा बस्ने पाहुनामध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक रहेका छन्। अधिकांश भारतीय पर्यटक धार्मिक यात्राका क्रममा पशुपतिनाथ दर्शनका लागि नेपाल आए पनि पछिल्लो समय ठमेलसहित अन्य पर्यटकीय क्षेत्रमा उनीहरूको बसाइ बढेको व्यवसायीको भनाइ छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा नेपाल आएका ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ जना भारतीय थिए। यस्तै, सन् २०२६ को पहिलो छ महिनामा नेपाल आएका छ लाख २० हजार ४५३ विदेशी पर्यटकमध्ये एक लाख ७२ हजार ४८१ जना भारतबाट आएका छन्।
पर्यटन व्यवसायीहरूले नेपाल–भारत खुला सीमा, धार्मिक पर्यटन, हिमाली गन्तव्यप्रतिको आकर्षण र भारतमा बढ्दो गर्मीका कारण भारतीय पर्यटकको आगमन बढेको बताएका छन्। यसको प्रभाव काठमाडौंसँगै पोखरा र मुक्तिनाथ क्षेत्रको पर्यटनमा पनि देखिन थालेको छ।