जाहेरी नपरेपछि कुटपिट आरोपमा पक्राउ परेका बारा यातायात कार्यालयका निमित्त प्रमुख आचार्य रिहा
कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएका बारा यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य पीडित भनिएका व्यक्तिले जाहेरी नदिएपछि रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा दुर्व्यवहार भएको भनिएका व्यक्ति कलैया उपमहानगरपालिका–२३ निवासी अरुण कुशवाहा रहेको खुलेको छ। घटनासम्बन्धी जाहेरी दर्ता गराउन उनलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी गराइए पनि हालसम्म उनी उपस्थित नभएको प्रहरीले जनाएको छ। प्रहरीले जाहेरी दर्ता नभएकाले आचार्यलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा रिहा गरिएको जनाएको छ।
मंगलबार जारी विज्ञप्तिमार्फत जिल्ला प्रहरी कार्यालय बाराले घटनाको निष्पक्ष अनुसन्धानका लागि पीडित भनिएका अरुण कुशवाहालाई यथाशीघ्र कार्यालयमा उपस्थित भई जाहेरी दर्ता गराउन आग्रह गरेको छ। कानुनी प्रक्रिया अगाडि बढाउन पीडितको उपस्थिति आवश्यक रहेको पनि प्रहरीले स्पष्ट पारेको छ।