सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन समुद्री तनाव बढ्यो
काठमाडौं । पूर्वी चीन सागरस्थित विवादित सेन्काकु टापुनजिक चिनियाँ तटरक्षक जहाज प्रवेश गरेपछि जापान र चीनबीचको समुद्री तनाव पुनः चर्किएको छ।
जापानी तटरक्षकका अनुसार चार चिनियाँ तटरक्षक जहाज उक्त क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए। तीमध्ये दुई जहाज जापानले आफ्नो क्षेत्रीय जलका रूपमा दाबी गरेको क्षेत्रमा प्रवेश गरी जापानी माछा मार्ने डुङ्गातर्फ अघि बढेका थिए।
जापानी तटरक्षकले चेतावनी दिएपछि चिनियाँ जहाजहरू मंगलबार बिहान उक्त क्षेत्रबाट बाहिरिएको जनाएको छ। जापानले घटनालाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै आफ्नो क्षेत्रीय सुरक्षामा सतर्कता कायम राख्ने बताएको छ।
सेन्काकु टापुको स्वामित्वलाई लिएर जापान र चीनबीच लामो समयदेखि विवाद रहँदै आएको छ। जापानले यसलाई सेन्काकु भने पनि चीनले दियाओयु नामले दाबी गर्दै आएको छ। यही विवादका कारण उक्त क्षेत्रमा पटक–पटक समुद्री तनाव उत्पन्न हुँदै आएको छ।