लेबल नभएका र गुणस्तरहीन खाद्यवस्तु बिक्री नगर्न विभागको चेतावनी
काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तरका तथा गैर–खाद्य पदार्थ मिसावट भएका दैनिक उपभोग्य वस्तु बिक्री वितरण नगर्न आग्रह गरेको छ।
विभागले सोमबार सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ताकपडालगायत सामग्री भौतिक पसल तथा डिजिटल प्लेटफर्ममार्फत बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिएको हो।
विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनले तोकेका दायित्व र मापदण्ड पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई प्रभावकारी बनाइने पनि विभागले जनाएको छ।