घरदैलोमै राहदानी सेवा सुरु भएपछि स्याङ्जामा हुलाकप्रति विश्वास बढ्दै
स्याङ्जा — पछिल्लो समय स्याङ्जामा हुलाक सेवाप्रति नागरिकहरूको विश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ। इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीका घरघरमै राहदानी पुर्याउने सेवा सुरु भएपछि यस्तो विश्वास वृद्धि भएको हो।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एकीकृत कार्यक्रमअन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट राहदानी हुलाकमार्फत पठाउने व्यवस्था मिलाइएको हो। सोही अनुसार हुलाक कार्यालयले घरदैलोमै पुगेर राहदानीलगायत आवश्यक कागजात उपलब्ध गराउन थालेको स्याङ्जाका प्रमुख हुलाक अधिकृत गुरुप्रसाद मरासिनीले जानकारी दिए।
उनका अनुसार हुलाकको यो सेवा सरल, सहज र सर्वसुलभ भएकाले सेवाग्राहीको आकर्षण बढ्दो छ।
घरमै राहदानी पाएपछि स्थानीयहरू पनि उत्साहित देखिएका छन्। पुतलीबजार नगरपालिका–१३ की मञ्जु रानामगर, हरिनास गाउँपालिका–१ की भविसरा थापा र अर्जुनचौपारी गाउँपालिका–१ का खुतबहादुर क्षेत्रीले केही दिनअघि हुलाक कर्मचारीमार्फत घरमै राहदानी प्राप्त गर्दा निकै सहज भएको अनुभव सुनाए।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला हुलाक कार्यालय स्याङ्जाबीच वैशाख २८ गते सेवाग्राहीलाई घरमै पुगेर राहदानी हस्तान्तरण गर्ने सम्बन्धी सम्झौता भएको थियो। यस पहललाई सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र नागरिकमैत्री बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।