जुम्लामा ११ महिनामा ट्राफिक कारबाहीबाट रु ८.१२ लाख राजस्व सङ्कलन
जुम्ला, असार २६ — जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई गरिएको कारबाहीबाट रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतका अनुसार सवारी नियम उल्लङ्घन, मादकपदार्थ सेवन गरी सवारी चलाउनेलगायतका कसुरमा चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो।
यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ।
ट्राफिक कार्यालयका अनुसार पछिल्लो समय बढ्दो सहरीकरणसँगै जुम्लामा सवारी साधनको चाप पनि बढ्दै गएको छ। सवारी आवागमन बढेसँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक सचेतना तथा नियमित अनुगमनलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।