देशभर १,६०० नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढाइयो : सञ्चारमन्त्री
काठमाडौं, ३ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले देशभर दूरसञ्चार सेवाको गुणस्तर सुधार र पहुँच विस्तारका लागि थप १,६०० नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माण प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट र टेलिफोन सेवाको गुणस्तर कमजोर रहेको गुनासो बढ्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि मन्त्रालय गम्भीर रूपमा काम गरिरहेको बताए।
उनका अनुसार दूरसञ्चार सेवाको विस्तार र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा नेपाल टेलिकम मार्फत मन्त्रालयको बजेटभन्दा बढी लगानी हुने तयारी छ। नेपाल टेलिकमले मात्रै ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि आगामी आर्थिक वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने योजना बनाएको उनले जानकारी दिए।
मन्त्रीका अनुसार हाल देशभर ४,८२९ टेलिकम साइट सञ्चालनमा छन्। तीमध्ये कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विभिन्न संख्यामा साइटहरू सञ्चालनमा रहेका छन्।
अध्ययनअनुसार सेवाको पहुँच र गुणस्तर सुधार गर्न थप १,४४३ साइट आवश्यक रहेको देखिएको छ। सोही आधारमा आवश्यकताभन्दा बढी पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित करिब १,६०० साइटका लागि खरिद प्रक्रिया अघि बढाइएको हो।
मन्त्रालयका अनुसार नयाँ साइटहरू थपिएपछि देशभर दूरसञ्चार सेवा अझ सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ। दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको मूल्याङ्कनका आधारमा यी पूर्वाधारले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
उपकरण तथा सामग्री अधिकांश विदेशबाट आयात गर्नुपर्ने भएकाले केही समय लाग्ने भए पनि सम्बन्धित निकायसँग समन्वय गरेर तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।