कर्णालीका तीन यातायात कार्यालयबाट ३१ करोडभन्दा बढी राजस्व संकलन
सुर्खेत — कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीस्थित यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा कुल ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन भएको छ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार सबैभन्दा बढी राजस्व सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले संकलन गरेको छ। सो कार्यालयले मात्र २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ उठाएको हो।
त्यसैगरी रुकुम पश्चिमको चौरजहारीस्थित यातायात व्यवस्था सेवा कार्यालयले ३ करोड ५ लाख ६३ हजार ३२१ रुपैयाँ तथा जुम्ला कार्यालयले १ करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व संकलन गरेका छन्।
मन्त्रालयका अनुसार कर्णालीमा यातायात क्षेत्र नै राजस्वको प्रमुख स्रोत बनेको छ। कुल राजस्वमध्ये झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करबाट प्राप्त भएको छ।
जेठ मसान्तसम्म मात्रै सवारीसाधन कर शीर्षकमा २४ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ, जसमा सुर्खेतले २१ करोड ५६ लाख ९३ हजार रुपैयाँ, चौरजहारीले २ करोड ६६ लाख ५१ हजार रुपैयाँ र जुम्लाले ७३ लाख ६५ हजार रुपैयाँ उठाएको उल्लेख छ।