भारत सरकारको सहयोगमा लोमान्थाङमा गुम्बा विद्यालय छात्रावास भवन उद्घाटन
मुस्ताङ — भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमान्थाङ गाउँपालिका–१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ।
उक्त भवनको उद्घाटन भारतका राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा आइतबार गरेका हुन्। राजदूत श्रीवास्तव उद्घाटनका लागि लोमान्थाङ पुगेका थिए।
भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project – HICDP) अन्तर्गत निर्माण गरिएको दुई तले छात्रावास भवनमा चार वटा ब्लकसहित आवश्यक पूर्वाधार समावेश छन्। परियोजना लोमान्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिएको हो।
लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणसँगै नेपाल सरकारको पाठ्यक्रमअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइएको छ।
उद्घाटन समारोहमा राजदूत श्रीवास्तवले परियोजनामा संलग्न सबै पक्षलाई शुभकामना दिँदै नेपाल र भारतबीचको सहकार्यलाई थप सुदृढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन र सरोकारवालाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ छात्रावासले विद्यार्थीहरूको आवासीय सुविधा र सिकाइ वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गरे।
राजदूतावासका अनुसार भारतको HICDP कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६ सय परियोजना सञ्चालन भएका छन्। गण्डकी प्रदेशमा मात्रै ६३ र मुस्ताङ जिल्लामा १८ परियोजना अघि बढाइएको छ।
त्यसैगरी भारतले मुस्ताङमा ११ वटा एम्बुलेन्स र ६ वटा विद्यालय बस तथा गण्डकी प्रदेशभर १२६ वटा एम्बुलेन्स र ५२ वटा विद्यालय बस सहयोगस्वरूप प्रदान गरिसकेको जनाएको छ।
भारत सरकारले नेपालसँगको विकास साझेदारीलाई निरन्तरता दिँदै स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ।