राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी
काठमाडौं, असार १
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको र थप विश्वसनीय बनाउन आवश्यक कानूनी संरचना तयार गर्न खोजिएको बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा विभिन्न प्रयोगशाला भए पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विशेष रूपमा बहुउपयोगी र विश्वसनीय बनाउन कानूनी व्यवस्था आवश्यक रहेको बताए।
उनले विधेयकमा विज्ञहरूको सुझावलाई अत्यन्त महत्त्वपूर्ण मानिएको उल्लेख गर्दै हाल सञ्चालनमा रहेका प्रयोगशालालाई समेत सुदृढ बनाउने सरकारको नीति रहेको स्पष्ट पारे। मन्त्री पुनका अनुसार प्रस्तावित विधेयकले मुख्य रूपमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षेत्रलाई मात्र समेट्नेछ।
बैठकमा सहभागी विज्ञहरूले प्रयोगशालालाई गुणस्तरीय र विश्वसनीय बनाउन सक्ने स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले गोपनीयता र सुरक्षा सम्बन्धी विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।