ऊर्जा मन्त्रालयमा अतिरिक्त शुल्कबारे उजुरी गर्न हटलाइन ११५१ सक्रिय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ले सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ।
मन्त्रालयले प्रमाणसहित यस्तो गुनासो मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तुरुन्त जानकारी गराउन अनुरोध गरेको हो।
मन्त्री Biraj Bhakta Shrestha ले पदभार ग्रहणपछि जनगुनासो सुनुवाइ र शीघ्र समस्या समाधानलाई प्रमुख प्राथमिकतामा राख्दै मन्त्रालय र मातहत निकायमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रयास तीव्र बनाएको बताइएको छ।
मन्त्रालयका अनुसार विद्युत् सेवासम्बन्धी गुनासो समाधानका लागि सञ्चालनमा रहेको हटलाइन ११५१ लाई थप सक्रिय बनाइएको छ। मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता उक्त हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ।
प्राप्त गुनासोमध्ये ‘नो लाइट’ (विद्युत् अवरोध), ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटर अभाव, तथा भूमिगत विद्युत् जडानसम्बन्धी समस्या प्रमुख रहेका छन्। यस्ता समस्याको समाधानलाई तीव्र बनाउँदै सेवा प्रवाह सुधार गर्ने मन्त्रालयको भनाइ छ।
त्यस्तै, सङ्घीय संसद् तथा प्रदेशसभाका सदस्यहरूले उठाउने ऊर्जा तथा सिँचाइसम्बन्धी गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ।
मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। उक्त एकाइले कर्मचारीको कार्यसम्पादन, जिम्मेवारी पालना, कानुनी समयसीमा तथा सेवा प्रवाहको प्रभावकारिताको नियमित अनुगमन तथा मूल्याङ्कन गर्दै आएको छ।
सरकारी स्रोतसाधनको उपयोग, कार्यसम्पादन सूचकको कार्यान्वयन र समयमै काम सम्पन्न हुने अवस्थाको समेत निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ‘डेलिभरी–आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राख्दै सेवा सुधार, जनगुनासो व्यवस्थापन र कर्मचारी उत्तरदायित्व बढाउने लक्ष्य लिएको छ।