महाकाली पुलसँगै गाइडबण्ड निर्माण अघि बढाउन मन्त्री लम्सालको निर्देशन
कञ्चनपुर — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै गाइडबण्ड निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
शुक्रबार बिहान भीमदत्त नगरपालिका–१२ स्थित निर्माणस्थलको अनुगमन गर्दै मन्त्री लम्सालले गाइडबण्ड निर्माणमा ढिलाइ भएको भन्दै नयाँ ठेक्का प्रक्रिया सुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।
चार लेनको पुल तथा सम्बन्धित संरचना करिब ९५ प्रतिशत सम्पन्न भइसके पनि गाइडबण्ड निर्माणमा भने अझै अन्योल कायमै छ। निर्माण कम्पनी कुमार–सिएफइसी जेभीले गाइडबण्डको नयाँ डिजाइन र भेरियसन अर्डर (भिओ) स्वीकृत नभएको भन्दै २०८२ वैशाखमा महाकाली पुल योजना कार्यालयलाई पत्राचार गरेको थियो।
उक्त विवाद हाल मध्यस्त न्यायाधिकरणमा विचाराधीन रहेको छ। तर मन्त्री लम्सालले ठेक्का सम्झौता तोडिएको अवस्थामा न्यायाधिकरणको निर्णय कुर्नु आवश्यक नरहेको भन्दै सडक विभाग आफैंले प्रक्रिया अघि बढाउनुपर्ने बताए।
“मध्यस्त न्यायाधिकरण कुर्नु पर्दैन, नयाँ ठेक्का प्रक्रिया अघि बढाउनुहोस्,” मन्त्री लम्सालले निर्देशन दिए।
तीन अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त पुलको निर्माण कार्य तीन वर्षअघि नै अधिकांश रूपमा सम्पन्न भए पनि केही संरचनागत काम बाँकी रहेको छ।
अनुगमनका क्रममा मन्त्री लम्सालले कञ्चनपुरकै दोधारा चाँदनी सुक्खा बन्दरगाह र मझगाउँ विमानस्थल निर्माणस्थलको पनि निरीक्षण गरेका छन्। मझगाउँ विमानस्थलको निरीक्षणपछि उनले नेपाली सेनाको मातहतमा रहेको जग्गा अधिग्रहणसम्बन्धी समस्या चाँडै समाधान गरिने बताए।