जेठमा वाणिज्य बैंकको ब्याजदरमा गिरावट, औसत दर ४.३४ प्रतिशत कायम
काठमाडौं — वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) तर्फको औसत ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ वटा बैंकले ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले पुरानै दर कायम राखेका छन्।
तथ्यांक अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाख महिनाको ४.४२ प्रतिशतबाट ०.०७ प्रतिशतले घटेर जेठमा ४.३४ प्रतिशत कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२३ प्रतिशतबाट ३.२० प्रतिशतमा झरेको छ।
व्यक्तिगत निक्षेपतर्फ ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक लिमिटेड, एनएमबि बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एनआईसी एशिया बैंक र कुमारी बैंक रहेका छन्। यी बैंकहरूले ०.०९ प्रतिशतदेखि ०.२५ प्रतिशतसम्म ब्याजदर घटाएका छन्।
संस्थागत निक्षेपतर्फ कुमारी, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एशिया बैंकले पनि ब्याजदर घटाएका छन्। बाँकी बैंकहरूको दर भने यथावत् राखिएको छ।
त्यस्तै ग्लोबल आइएमई बैंक, नबिल बैंक, प्रभु बैंक, सानिमा बैंक लगायत १२ वटा बैंकहरूले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेका छन्।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार लगातार घट्दो ब्याजदरले निक्षेपकर्ताको प्रतिफलमा असर पार्ने भए पनि ऋण प्रवाह र लगानी वातावरणमा केही सहजता ल्याउन सक्ने देखिन्छ।