बैंक कर्मचारीलाई अतिरिक्त काममा ओभरटाइम भत्ता अनिवार्य
काठमाडौं, ९ जेठ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा लगाउँदा प्रचलित कानुनअनुसार अतिरिक्त परिश्रमिक (ओभरटाइम भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि गरिएको छ।
राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशिक्षित सेवाग्राहीलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्नेछ। यस्ता सेवाग्राहीका लागि विशेष काउन्टर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।
त्यसैगरी, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउन तथा एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन र अडियो सपोर्टसहित अपाङ्गमैत्री एटिएम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित शाखा तथा एटिएमको विवरण बैंकहरूले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।