१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाइँदै : मन्त्री यादव
काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरिने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले सम्बन्धित देशबाट प्रत्यक्ष पहलमा ढिलाइ भएकाले अब परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
उनले हाल नेपालले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको भए पनि १७८ देशमा नेपाली श्रमिक कार्यरत रहेको बताए।
मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा हुने आर्थिक ठगी तथा श्रम शोषण नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको उल्लेख गरे। उनका अनुसार विदेश जानेमध्ये करिब ४८ प्रतिशत नेपालीले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन्।
महिला घरेलु श्रमिकहरू गैरकानुनी बाटोबाट विदेश जाने प्रवृत्तिका कारण समस्या उत्पन्न हुँदा राज्यले प्रभावकारी सहयोग गर्न नसकेको पनि उनले बताए।
युद्ध प्रभावित मुलुकहरूमा मृत्यु भएका नेपाली श्रमिकको शव ल्याउन ढिलाइ भएको स्वीकार गर्दै अब त्यस्तो समस्या दोहोरिन नदिने मन्त्री यादवको भनाइ थियो।
स्थानीय तहमा रोजगारी सिर्जना गर्न मन्त्रालय योजनाबद्ध रूपमा अघि बढिरहेको उनले बताए। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगीबाट जोगाउन राज्य थप गम्भीर हुनुपर्ने सुझाव दिएका थिए।