प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार
सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा बिहीबार अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।
बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ। बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, विपक्षी दलका नेता भीमराज आङ्देम्बे र उपसभामुख रुवी कुमारी सहभागी हुनेछन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेलगत्तै बैठक बोलाइएको हो। उक्त अध्यादेशले परिषद्को गणपूरक संख्या चार कायम गरेको छ, जसअनुसार बहुमतका आधारमा निर्णय गर्न सहज हुने भएको छ।