स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै नेपाल भित्रियो
काठमाडौं — नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक रूपमा भित्रिने रकम अत्यन्त न्यून रहेको तथ्य सार्वजनिक भएको छ। महालेखापरीक्षकको कार्यालय को ३३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१–८२ मा स्वीकृत वैदेशिक लगानीको जम्मा १४ प्रतिशत मात्रै नेपाल भित्रिएको हो।
प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। तर त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड रुपैयाँ वास्तविक रूपमा प्राप्त भएको उल्लेख गरिएको छ।
सार्वजनिक प्रतिवेदनले पछिल्ला वर्षहरूमा वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको अन्तर लगातार बढ्दै गएको देखाएको छ।
आर्थिक वर्ष २०७९–८० मा ३२ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भएकामा नौ अर्ब २० करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो, जुन कुल स्वीकृत लगानीको २८ प्रतिशत हो।
त्यस्तै आर्थिक वर्ष २०८०–८१ मा ८१ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएकामा १० अर्ब २९ करोड रुपैयाँ मात्रै नेपाल भित्रिएको थियो। यो कुल स्वीकृत लगानीको १३ प्रतिशत मात्र हो।
महालेखापरीक्षकको प्रतिवेदनले वैदेशिक लगानीको प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न नीतिगत स्थायित्व कायम गर्नुपर्ने, प्रशासनिक प्रक्रिया सरल बनाउनुपर्ने तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदनमा सम्बन्धित निकायलाई लगानीकर्ताको विश्वास बढाउने र स्वीकृत लगानीलाई कार्यान्वयनतर्फ लैजान प्रभावकारी कदम चाल्न पनि आग्रह गरिएको छ।