परराष्ट्र मन्त्रालयमा विकास समस्या समाधान समितिको बैठक सम्पन्न, कार्यसम्पादन सुधारमा जोड
काठमाडौं — परराष्ट्र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बुधबार सम्पन्न भएको छ। बैठकको अध्यक्षता परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए।
बैठकमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादन र छिटो सेवा प्रवाहमा विशेष जोड दिँदै समस्या समाधानका लागि सबै निकायको समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। उनले सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन तत्परताका साथ काम गर्न निर्देशन समेत दिए। साथै, मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।
बैठकमा आर्थिक वर्ष ०८२–०८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन गरिएको थियो। साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका समस्या, अवरोध र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा डा. गुणाकर भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लगायत मन्त्रालयका उच्च अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।