उग्रतारा गणमा दौडका क्रममा ७ सशस्त्र प्रहरी बेहोस, ‘हिट स्ट्रोक’ आशंका
कैलाली — सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सात जना जवान बेहोस भएका छन्।
शुक्रबार बिहान करिब ६ बजे नियमित शारीरिक अभ्यासका क्रममा उनीहरू बेहोस भएपछि तत्कालै उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। चिकित्सकहरूले प्रारम्भिक रूपमा ‘हिट स्ट्रोक’ का कारण अवस्था गम्भीर भएको आशंका गरेका छन्।
स्थिति जटिल बनेपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाउने तयारी गरिएको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको जनाइएको छ।
कैलालीसहित तराई–मधेश क्षेत्रमा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि जनजीवन प्रभावित भएको छ। गर्मीका कारण सुरक्षाकर्मीको नियमित अभ्यासमै समस्या देखिन थालेको छ।
यस घटनाले अत्यधिक गर्मीमा शारीरिक प्रशिक्षण तथा बाहिरी गतिविधिमा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता फेरि उजागर गरेको छ।