कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै अनेरास्ववियुको परीक्षा बोर्डमा प्रदर्शन
भक्तपुर — कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेको छ।
शुक्रबार भक्तपुरस्थित बोर्ड कार्यालय अगाडि आयोजित प्रदर्शनमा अनेरास्ववियुले नतिजा प्रकाशन, मूल्याङ्कन प्रक्रिया तथा पुनर्मूल्याङ्कन र रिटोटलिङ व्यवस्थामा सुधार गर्न माग गरेको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘विद्यार्थीमाथि अन्याय बन्द गर’, ‘शिक्षामा बेथिति अन्त्य गर’, ‘अनियमितता छानबिन गर’, ‘दोषीलाई कारबाही गर’ र ‘शैक्षिक न्याय कायम गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनेरास्ववियुकी महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान तथा परीक्षा प्रणालीलाई पारदर्शी बनाउन दबाब दिन प्रदर्शन गरिएको बताइन्। उनले कक्षा १२ को नतिजा प्रकाशनमा भएका त्रुटिका कारण विद्यार्थीहरूको भविष्य प्रभावित भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।
प्रदर्शनकारीहरूले नतिजा छिटो सार्वजनिक गर्ने नाममा लापरवाही गर्ने जिम्मेवार कर्मचारीमाथि कारबाही गर्न र विद्यार्थीको हितलाई केन्द्रमा राखेर मूल्याङ्कन प्रणाली सुधार गर्न पनि माग गरेका छन्।