राष्ट्रियसभामा भूकम्पपीडित, इन्धन मूल्य र सुकुम्बासीको विषय उठ्यो
काठमाडौं — राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा सांसदहरूले भूकम्पपीडितको पुनर्स्थापना, इन्धनको मूल्यवृद्धि, शिक्षा–स्वास्थ्यमा कर तथा सुकुम्बासी व्यवस्थापनलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा बोल्दै सांसद कृष्णबहादुर रोकायाले २०८० साल कात्तिकमा गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका ग्रामीण बस्तीमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेको उल्लेख गर्दै पुनर्निर्माणको कामलाई तत्काल गति दिन सरकारसँग माग गरे।
सांसद घनश्याम रिजालले इन्धनको मूल्यवृद्धिले विकास निर्माणका काम प्रभावित भएको भन्दै मूल्य समायोजन गरी सहज वातावरण बनाउन आग्रह गरे।
सांसद पदमबहादुर परियारले न्यून दृष्टियुक्त व्यक्तिहरूको माग सम्बोधन गर्दै पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए। सांसद विष्णुदेवी पुडासैनीले आम नागरिक प्रभावित हुने गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउन नहुने धारणा व्यक्त गरिन्।
बैठकमा सुकुम्बासी समुदायको व्यवस्थापनको विषय पनि प्रमुख रूपमा उठेको थियो। सांसद रेणु चन्दले सुकुम्बासीको उचित व्यवस्थापन गर्दै मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरिन्। सांसद विष्णुकुमारी सापकोटाले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी बाहिर पठाउने सरकारी निर्णयको आलोचना गरिन्।
त्यस्तै, सांसद विष्णुबहादुर विश्वकर्माले सुकुम्बासीलाई संविधानले प्रत्याभूत गरेको आवासको अधिकार सुनिश्चित गर्न माग गरे भने सांसद श्रीकृष्ण अधिकारीले उचित पुनर्स्थापनाको व्यवस्था नगरी विस्थापितलाई अन्यत्र जान आग्रह गर्नु उचित नभएको बताए।
सांसद सावित्री मल्लले पनि सुकुम्बासी समुदायप्रति मानवोचित व्यवहार गर्न र उनीहरूको मानवअधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिन्।