हिजबुल्लाह प्रमुखको टिप्पणीपछि इजरायल–लेबनान वार्तामा तनाव
काठमाडौं — हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः अमेरिकासँग सम्झौतामा पुगेको दाबी गर्दै यसलाई अमेरिका र इजरायलको हारको रूपमा व्याख्या गरेका छन्।
अल जजिराका अनुसार कासिमले इजरायलले कुनै सर्तबिना लेबनानबाट फिर्ता हुनुपर्ने बताएका छन्। उनले लेबनानी सरकारलाई अमेरिका र इजरायलको दबाब तथा निर्देशन अस्वीकार गर्दै साझा शत्रुविरुद्ध एकजुट हुन आग्रह गरेका छन्।
कासिमले इजरायल लेबनानमा केवल सुरक्षा कारणले नभई भूभाग कब्जा गर्ने उद्देश्यले उपस्थित रहेको आरोप पनि लगाएका छन्।
यसैबीच, अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच जारी वार्ता पाँचौं चरणमा प्रवेश गरेको छ। बुधबार राति सकिने अपेक्षा गरिएको वार्ता अब बिहीबार वाशिङ्टनमा पुनः सुरु हुने भएको हो।
वार्तामा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने तथा इजरायली सेनाले नियन्त्रणमा राखेका केही क्षेत्र लेबनानी सेनालाई हस्तान्तरण गर्ने प्रस्तावमाथि छलफल भइरहेको बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले इजरायलले दक्षिणी लेबनानको बफर जोनको केही भागबाट पछि हट्ने संकेत दिएको दाबी गरेका छन्। तर लेबनानी सेनाले भने त्यस्तो कुनै औपचारिक कदम भएको पुष्टि नगरेको जनाएको छ।
इजरायली अधिकारीहरूले हिजबुल्लाहलाई निःशस्त्र नगरिएसम्म र सुरक्षा खतरा कायम रहुन्जेल सेना पछि नहट्ने अडान दोहोर्याएका छन्।
यसैबीच, लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको नबातियेह जिल्लाको मरकबा क्षेत्रमा सैन्य कारबाहीका क्रममा केही घरमा बुलडोजर चलाउनुका साथै आगजनी गरेको छ।
क्षेत्रीय तनावका बीच जारी वार्ताले ठोस प्रगति गर्न नसकेको विश्लेषण गरिएको छ।